मोदीको शपथमा छिमेकीलाई निम्तो, प्रतिपक्ष बेखबर

मोदीको शपथमा छिमेकीलाई निम्तो, प्रतिपक्ष बेखबर


ग्लोब नेपाल
216
Shares

नयाँ दिल्ली । आज साँझ ७:१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रिपरिषद्का अन्य सदस्यले राष्ट्रपति द्रौपदी मुर्मुबाट पद तथा गोपनीयताको शपथ लिइँदैछन् । सपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निम्तो दिइएको छ । तर प्रतिपक्षी दलले भने यो समाचार तयार पार्दासम्म निम्तो हात पारेका छैनन् ।

छिमेकी मुलुकका सरकार प्रमुखलाई बोलाइएको छ । जसमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोबगे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद रहेका छन् ।

कांग्रेस नेता केसी वेणुगोपालले सपथ ग्रहण समारोहमा सरकारबाट विपक्षी दलका नेताहरुलाई निमन्त्रणा नआएको बताए । कांग्रेस नेता जयराम रमेशले पनि भने, ‘भारतीय गठबन्धनका नेताहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहको निमन्त्रणा प्राप्त भएको छैन । हाम्रो भारत गठबन्धनका नेताहरूलाई निमन्त्रणा आएपछि हाम्रा नेताहरूलाई निमन्त्रणा आयो भने शपथ समारोहमा सहभागी हुने बारे विचार गर्नेछौं ।’

पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस (टीएमसी) नेतृ ममता बनर्जीले पनि निमन्त्रणा नपाएको बताएकी छन् ।

तृणमूल कंग्रेस संसदीय दलको बैठकपछि ममता बनर्जीले पत्रकारहरुलाई कार्यक्रममा उपस्थित नहुने स्पष्ट पारिन् । उनले भनिन, ‘तृणमूल कांग्रेसका कुनै नेता पनि यस शपथ समारोहमा आउने छैनन् ।’