टी-२० विश्वकप: आज भारत र पाकिस्तानको भिडन्त

टी-२० विश्वकप: आज भारत र पाकिस्तानको भिडन्त


ग्लोब नेपाल
135
Shares

काठमाडौ‌ । जारी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुनेछन् । आज पहिलो खेल समुह ‘सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच बिहान सम्पन्न भयो । गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा सम्पन्न खेल वेस्ट इन्डिजले १३४ रनले जित्यो ।

विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजी र दोस्रो खेलमा युगाण्डालाई पराजित गरेर ४ अंक हासिल गरेको छ । त्यस्तै युगाण्डाले भने खेलेका ३ मध्ये १ जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुदैछ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुनेछ ।

यस खेललाई यस विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ । भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । त्यस्तै टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।

त्यसैगरी आज तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदैछ । एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी-२० भएका छन् । जसमा चारै खेल स्कटल्याण्डले जितेको छ ।