नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली गएका हुन् ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

मोदीले आइतबार (आज) बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए ।

मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।