राष्ट्रपति पौडेल नउड्दै जर्मनीमा विवाद

राष्ट्रपति पौडेल नउड्दै जर्मनीमा विवाद



काठमाडौं । जेठ ३१ गते आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिने राष्ट्रपति रामचन्द्र पौडेल जेठ २९ गते मंगलबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । स्वीजरल्याण्डपछि राष्ट्रपति पौडेल जर्मनी जाने कार्यक्रम छ । तर राष्ट्रपति पौडेल नेपालबाट नउड्दै जर्मनीस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रम भने विवादमा परेको छ ।

राष्ट्रपति पौडेल असार २ गते अर्थात् १६ तारिखमा जर्मनी आइपुग्ने कार्यक्रम छ । स्वागत कार्यक्रम कहाँ राख्ने र कस–कसलाई भेट दिने विषय विवादमा परेको हो । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले आफ्नै निवास स्पेन्दुमा लगेर कम्पाण्डभित्र पाल हालेर कार्यक्रम आयोजना गर्दैछन् ।

जर्मनीमा नेपालको दूतावासको बोनमा आफ्नै जग्गा भए पनि बर्लिनमा कोठा भाडामा लिएर सञ्चालन गरिएको छ । राजदूत निवास स्पेन्दु पुग्न दूतावासबाट निजी सवारी साधनमा जाँदा झन्डै डेढ घन्टा लाग्छ । राजदूत निवास कम्पाण्डभित्र ३ वटाभन्दा बढी कार नअटाउने मात्र होइन, यो स्थान जर्मनीमा रहेका सबै नेपालीलाई पायक पर्दैन ।

सबैलाई पायक पर्ने होटलमा कार्यक्रम आयोजना गर्न राजदूत खड्कासमक्ष गैरआवासीय नेपाली संघ जर्मनी र अन्य नेपाली समुदायले आग्रह गरेका थिए । तर राजदूत खड्काले खर्च अभाव देखाउँदै होटलमा कार्यक्रम गर्न नसक्ने जनाउ नेपाली समुदायलाई दिए । राज्यले व्यहोर्न सक्दैन भने हामी नेपाली समुदाय मिलेर खर्च व्यर्होछौं भनेपछि राष्ट्रपतिको कार्यक्रम विवादमा तानिएको हो ।

राष्ट्रपतिको अभिनन्दन गर्न एनआरएनए जर्मनीले समय मागेको थियो । अध्यक्ष निनाम राईले हस्तक्षर गरेको अभिनन्दन पत्र पनि तयार पारिएको थियो । तर १६ तारिख साँझ ७ पछि रिसेप्सन भएकाले त्यसअघिको १५ मिनेट समय मात्र एनआरएनएलाई छुट्टाइएको जानकारी राजदूत खड्काले गराएका थिए ।

जर्मनीका चल्तापूर्जा रेष्टुरेन्ट व्यवसायी दिल गुरुङले खाना खुवाउने कार्यक्रम राख्दिनँ राजदूत खड्कासँग आग्रह गरेका थिए । तर राजदूतले गुरुङको प्रस्ताव ठाडै अस्वीकार गर्दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनी आएका बेला इण्डियन रेस्टुरेन्टमा खाना खाएको उदाहरण प्रस्तुत गर्दा पनि राजदूत खड्काले तपाईंको रेस्टुरेन्ट न्यूट्रल भएन भनेर प्रस्ताव अस्वीकार गरिदिए । तीन दशकभन्दा बढी जर्मनीमा बसोबास गरेका दिल गुरुङ मनाङबाट निर्वाचित टेकबहादुर गुरुङका कान्छा भाइ हुन् ।

‘कार्यक्रम राजदूत निवास स्पेन्दुनमै हुन्छ, कार्यक्रममा आधा नेपाली, आधा जर्मन नागरिक हुनेछन् । नेपाली समुदायका लागि १५ मिनेटभन्दा बढी समय छैन, निम्तो पाएर आउने आउँछन्, नआउने आउँदैनन’ राजदूतको भनाइ उदृधत गर्दै समाचारस्रोतले ग्लोब नेपाललाई भन्यो ।

यसअघि राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्तिक २२ बाट मंसिर १ गतेका लागि तय भएको थियो । कार्तिक १७ गते जाजरकोट भूकम्पले गर्दा भ्रमण रद्द गर्नुपरेको थियो । क्यान्सिल भएको उक्त भ्रमणको खर्च मात्र सरकारले ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।

जर्मनीबाट सन् १९८६ मा चान्सलर हेलमेट कोलले नेपाल भ्रमण गरेका थिए । त्यसपछि राष्ट्रपति पौडेलको यो पहिलो र जर्मनीका लागि उच्चस्तरीय भ्रमण हो । त्यसयता, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ सालमा जर्मनीको भ्रमण गरेका थिए । त्यसबेला उनी जर्मनीको फ्रङ्र्कफर्डबाट लक्जम्वर्गको सीमा प्रियरमा रहेको कार्ल माक्र्सको घरमा पुगेका थिए । त्यसपछि एमाले अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीको जर्मनी भ्रमण तय भएको थियो । तर उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपर्ने भएकाले उक्त भ्रमण क्यान्सिल भएको थियो ।

राष्ट्रप्रमुखको विदेश भ्रमणमा राज्यले कन्जस्याइ नगर्नुपर्ने हो । तर जर्मनी राजदूत खड्काले खर्च अभावको दरिद्रता देखाएर राष्ट्रपतिको भ्रमण विवादमा पार्नु आफैमा लाजमर्दो भएको जर्मनीमा रहेका नेपालीहरुले टिप्पणी गरेका छन् ।