गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । 

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त  इजलासमा सुनुवाइका लागि रिटको पेशी तोकिएको छ ।

यसअघि न्यायाधीश श्रेष्ठको एकल इजलासले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटलाई अग्राधिकार प्रदान गरी अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

सर्वोच्चले कास्की सूर्यदर्शन सहकारी ठगीबारे गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीको प्रतिलिपि समेत झिकाएको छ । 

गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा गत सोमबार रिट दर्ता भएको हो । रिटमा महान्यायाधिवक्ता कार्यालय,महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई  विपक्षी बनाइएको छ ।

गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।