गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

नेसपा सांसद देवकोटाले गरे फ्लोर क्रस



पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत परेको छ ।

पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।

यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो । आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए ।

यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित भए पनि उनले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् ।

देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।