मलावीका उपराष्ट्रपतिसहित ९ जनाकाे विमान दुर्घटनामा ज्यान गयाे

मलावीका उपराष्ट्रपतिसहित ९ जनाकाे विमान दुर्घटनामा ज्यान गयाे



काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलिमाको विमान दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा उपराष्ट्रपति चिलिमा, मलावीकी पूर्व प्रथम महिला शानिल डिजिम्बीरी लगायत नौ जनाको ज्यान गएको राष्ट्रपति लाजरस चकवेरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गए राति राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र विमानमा रहेको नौ जना सबैको ज्यान गएको राष्ट्रपति चकवेराले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

५१ वर्षीय उपराष्ट्रपति चिलिमा चार दिनअघि निधन भएका पूर्वमन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए । उनी चढेको सेनाको विमान खराब मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान गर्ने राष्ट्रपति चकवेराले उल्लेख गरेका छन् ।

उपराष्ट्रपति चिलिमासहितकाे टाेली चढेकाे विमान जङ्गलभित्र दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।