राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरुले बिदाई गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् ।

राष्ट्रपति पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । जेनेभाबाट उनी १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यलयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् ।

राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।