काठमाडौँ । भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने भएका छन् ।
राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जितेका थिए । अब गान्धीले वायनाडको सिट खाली गर्ने र उनकी बहिनी तथा नेत्री प्रियंका गान्धीलाई त्यहाँको उपचुनावमा उम्मेदवार बनाउने भारतीय कांग्रेसले जनाएको छ ।
कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने घोषणा गरेकाे बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै पत्रकार सम्मेलन गर्दै नेता राहुल गान्धीले आफूले एउटा सिट रोज्नैपर्ने भएकाले वायनाड छाडेको तर त्यहाँ जान नछाड्ने बताएका छन् । यस्तै प्रियंकाले पनि आफ्ना लागि रायबरेली र अमेठी निकै प्रिय ठाउँ भएकाले त्यहाँ पनि गइरहने बताएकी छन् ।
प्रियंका गान्धीले उम्मेदवारको रूपमा पहिलो पटक चुनावमा भाग लिनेछिन् । प्रियंकाले वायनाडका नागरिकलाई राहुल गान्धीको अभाव महसुस गर्न नदिने बताएकी छन् ।


प्रतिक्रिया