काठमाडौं । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेको प्रष्टोक्ति दिएका छन् ।
सामाजिक सञ्जालमा ६ बुँदे प्रस्टीकरण दिँदै उनले ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण लुकेर गर्ने विषय नभएको उल्लेख गरेका छन् ।
ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको अभिभावक हुने अधिकार रहेको दाबी गरेका छन् । उनले भण्डारी एमालेको नेतृ भएकै कारणले राष्ट्रपति भएको र अब फेरि पार्टी राजनीतिम आउनु कुनै नौलो कुरा नभएको उल्लेख गरेका छन् ।
उनले भण्डारीले पार्टी सदस्यता नवीकरण लुकेर गर्ने विषय नभएकाे पनि बताएका छन् । उनले अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन भण्डारी सक्रिय राजनीतिक जीवनमा नफर्कने दाबी गर्दै यदि आवश्यकताले माग गर्याे भने इन्कार गर्नु हुन्न भन्ने विश्वास भने आफूहरूलाई रहेकाे पनि बताएका छन् ।
ढुंगेलकाे भनाइ :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टी सदस्यको नवीकरणको विषयलाई लिएर मिडियाहरूले धेरै चासो राखिरहेको सन्दर्भलाई स्पष्ट पार्न आवश्यक ठानेर यो स्टाटस लेखेको छु ।
१. विद्या भण्डारी नेकपा (एमाले) नेतृ भएर नै राष्ट्रपति बन्नुभएको हो । पदीय जिम्मेवारीले अलग रहनुपर्यो, उहाँ अलग हुनुभयो ।
२. राष्ट्रपति भएर राष्ट्रियता र लोकतन्त्रको संरक्षकको रूपमा उहाँले निभाउनुभएको भूमिका नेपाली जनताका माझ घामजत्तिकै छर्लङ्ग छ ।
३. उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवश्यकताले माग गर्यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वासचाहिँ हामीलाई छ ।
४. सिङ्गो देश, नेपाली जनता र आफू विकास भएको राजनीतिक पार्टी नेकपा (एमाले) को स्थायी अविभावक हुने अधिकार उहाँसँग सुरक्षित छ ।
५. पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य निर्माण गर्नु उपयुक्त होइन ।
६. राजनीतिक सक्रियताको निर्णय गर्ने उहाँको आफ्नो व्यक्तिगत विषय पनि हो । उहाँले पार्टी सदस्यता नवीकरण गर्ने विषय लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नुभयो भने उहाँको सक्रियता नि:सन्देह एमाले पार्टीमा नै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो । अनि के अनौठो भयो त !!


प्रतिक्रिया