काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।
उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठि बर्साएको आरोप लगाए ।
सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।
सिंहले मेयर बालेनले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे ।
‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’, सिंहले प्रश्न गर्दै भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो र विभेदमा चल्न खोजेको हो ?’
उनले गणतन्त्रमा एउटा गरिब र एकजना निर्धाले पनि बाच्न पाउने भन्दै मधेसका मानिसले शान्तिपूर्ण आन्दोलन गर्दा किन टाउको फुटाएको भन्दै गृहमन्त्रीलाई समेत प्रश्न गरे । ‘यो विभेद किन भइरहेको छ ? यो स्वीकार्य हुँदैन’, सिंहले भने,‘ अहिलेको प्रधानमन्त्री विभेद अन्त्य गर्न जनयुद्ध गरेर आउनुभएको छ । के देशमा गरिब बस्न नपाउने हो ? हामी कवाडीको आन्दोलनमा साथ दिन्छौ ।’


प्रतिक्रिया