नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई गगनको सुझाव



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘सभामुख महोदय, स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीसँग भेट्नुभएछ । अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ । अनि प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेनन् । प्रधानमन्त्रीलाई कति पटक भन्ने हो यो ? यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरबार, बालुवाटारबाट डेरा सर्ने ।’

महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए ।

महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजबिजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

स्रोत छैन भनेर सरकार समानीकरण अनुदान रोक्न नमिल्ने महामन्त्री थापाले बताए । ‘वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने, अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने, यो अस्वीकार्य छ, असंवैधानिक छ’, उनले भने ।