लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी

लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी



काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकी सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् ।

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अरबौँ रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले उनी सहितका कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित भएका छन् । कायम मुकायम मुख्य सचिव नियुक्तका लागि भने हाल रहेका सचिव मध्येबाट वरिष्ठ सचिवलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।