कांग्रेसभित्र फोहोर गर्नेलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ : गगन थापा

कांग्रेसभित्र फोहोर गर्नेलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिस धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्‌नाम भइरहेको बताए ।

उनले भने, ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन । काँग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा काँग्रेस भित्रको फोहोर थोरै छ । काँग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताए ।

महामन्त्री थापाले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए । उनले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।

“हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएकोजस्तो भएको छ । त्यो मिसन हराएकोजस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ । कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ,” उनले भने ।