काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी कांग्रेस लाग्नुपर्ने बताए ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।
‘यो सरकार एमाले, माओवादी, घण्टी, बन्टी, जो-जोले चलाएका छन्, चलाउन दिऔँ । सरकारतिर हामीले हेर्दै नहेरौँ । र, यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि २०८४ सालमा कम्तीमा पनि सय सिट जित्ने गरी,’ उनले भने ।
महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माणमा लाग्ने बताए । उनले जादुगरजस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोडिदिन आग्रह गरेका छन् ।
महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।
‘यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ,’ उनले भने ।


प्रतिक्रिया