नेपालले दक्षिण अफ्रिकालाई गाह्राे बनाउँदा हामीलाई प्रेरणा मिलेकाे थियाे : राशिद खान

नेपालले दक्षिण अफ्रिकालाई गाह्राे बनाउँदा हामीलाई प्रेरणा मिलेकाे थियाे : राशिद खान



काठमाडौँ । अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खानले नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान भएको बङ्गलादेशसँगको खेलपछिको पत्रकार सम्मेलनमा राशिद खानले नेपालले प्रतियोगिताभरि हेर्नलायक प्रदर्शन गरेको बताएका हुन् । उनले भने, ‘क्रिकेटको निकै नयाँ देश नेपालले विश्वकपमा आएर उत्कृष्ट प्रदर्शन गर्‍याे । नेपालले आफ्नो समूहका सबै टोलीसँग उत्कृष्ट क्रिकेट खेलेको थियो ।’

अफगानिस्तानका कप्तान राशिदले नेपालले दक्षिण अफ्रिका जस्तो बलियो देशलाई गाह्रो बनाउँदा आफूहरूलाई प्रेरणा र प्रोत्साहन मिलेको पनि बताए । उनले भने, ‘कुनै टिमले सानो लक्ष्य बचाउने प्रयास गरेको देख्दा पनि हामीलाई धेरै कुरा सिक्न मिल्छ । नेपालले प्रतियोगितामा सानदार प्रदर्शन गर्‍याे । यो टी–२० क्रिकेट हो । यो खेलमा हामी कुनै पनि टिमलाई हराउन सक्षम छौँ भन्ने आत्मविश्वास हुनुपर्छ ।’

यसैबीच बङ्गलादेशलाई हराउँदै अफगानिस्तान पहिलाे पटक टी–२० विश्वकप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ ।