अमेरिकासँगको कानुनी मामिला मिलाएर अष्ट्रेलियातर्फ उडे असान्ज

अमेरिकासँगको कानुनी मामिला मिलाएर अष्ट्रेलियातर्फ उडे असान्ज



काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियान असान्ज अमेरिकी कानुनी प्रक्रिया पूरा गरेर बुधबार अष्ट्रेलियाको क्यानबेरातर्फ उडेका छन् । उनी अमेरिकी भूभाग नर्थन मेरिआना आइल्यान्डको अदालतमा आफूले गरेको गल्ती महसुस गरेपछि स्वतन्त्र भएर आफ्नो मुलुक फर्केका हुन् ।

विकिलिक्सका अनुसार उनी माल्टामा आधारित चार्टर सर्भिस प्रोभाइडरको भिस्टा जेटमा त्यसतर्फ उडेका हुन् । उनी अष्ट्रेलियाको स्थानीय समयअुनसार १८ः१४ बजे क्यानबेरामा अवतरण गर्ने जनाइएको छ ।

यसअघि बसेको जेलको अवधिलाई अहिले पनि गणना गरिएकोले उनी अमेरिकामा भने जेलमा बस्नु परेन । उनी सोमबार बेलायती जेलबाट छुटेपछि थाइल्यान्ड हुँदै नर्थन मेरिआना आइल्यान्ड पुगेका हुन् ।

उनी क्यानबेरा जाने चार्टर विमानको भाडा पाँच लाख २० हजार डलर भएको बताइएको छ । सो भाडा अष्ट्रेलिया सरकारले अहिले व्यहोरे पनि पछि असान्जले सो रकम चुक्ता गर्नुपर्ने जनाइएको छ ।

अमेरिकी कानुन मन्त्रालयको वक्तव्यमा अनुमति नलिइकन असान्ज अब अमेरिका फर्कन प्रतिबन्धित रहेको कुरा पनि उल्लेख भएको जनाइएको छ । बीबीसीबाट