टी–२० विश्वकपकाे पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै

टी–२० विश्वकपकाे पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै



काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बिहान दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दैछन् । यो खेल बिहान सवा ६ बजे त्रिनिदादको ब्रायन लारा स्टेडियममा शुरु हुनेछ ।

दक्षिण अफ्रिका सुपर–आठको समूह ‘दुई’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिकाले सुपर–आठको पहिलो खेलमा अमेरिकालाई १८ रन, दोस्रो खेलमा इङ्गल्यान्डलाई ७ रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई ‘डीएलएस’ अर्थात् डकवर्थ लुइस नियमका आधारमा ३ विकेटले हराएको थियो ।

यस्तै अफगानिस्तान सुपर–आठको समूह ‘एक’ बाट दोस्रो स्थानमा अन्तिम चारमा पुगेको हो । अफगानिस्तान सुपर–आठको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रन र तेस्रो खेलमा बङ्गलादेशलाई डीएलएस नियमका आधारमा ८ रनले हराएको थियो ।

अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो ।