अध्यक्षमा मेरै नाममा सहमति हुन्छ : झलनाथ खनाल

अध्यक्षमा मेरै नाममा सहमति हुन्छ : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले आफू अध्यक्षबाट ब्याक नभएको बताए ।

घनश्याम भुसाललाई समर्थ गर्नुभएको हो ? भन्ने प्रश्नमा खनालले भने, ‘होइन, बेकारको कुरा गर्नुहुन्छ । हामी सब एकतावद्ध भएर सहमतिका साथ जाने हो ।’

आफ्नै नाममा सहमति नहुनु पर्ने केही कारण नभएकाे भन्दै उनले आफ्नै नाममा सहमति हुने दाबी गरे ।

एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौं महाधिवेशन आयोजना गर्दैछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसहित खनाल र महासचिव घनश्याम भुसाल प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

आज बसेको सचिवालयको बैठकले पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको छ । केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्नसक्ने निर्णय पनि भएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने मूलभूत प्राथमिकता राखेर नयाँ पद सिर्जना गरेको र केही हुनसक्ने उनले बताए । उनले भने, ‘सहमतिको लागि आवश्यकताअनुसार धेरै कुरा गर्दै जानुपर्छ । सर्वसम्मत नेतृत्वको लागि हामीले प्राथमिकता राखेको छौँ । त्यसका लागि कुनै पदले महत्त्वपूर्ण सहायता पुर्‍यायो भने त्यो पनि गर्नुपर्छ । यी सबै गर्दा पनि भएन निर्वाचनमा जाने भयो भने पनि सहमति त सहमति हुन्छ निर्वाचन गर्ने हुन्छ कि नगर्ने हुन्छ फरक त्यति हो ।’

यस्तै, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको छ । महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको बताए ।