अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन र ट्रम्पबीच बहस

अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन र ट्रम्पबीच बहस

ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको बाइडेनकाे आरोप, बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको ट्रम्पकाे दाबी



वासिंटन डिसी । अमेरिकामा आउँदाे नोभेम्बर ५ मा हुने राष्ट्रपतिको चुनावको सन्दर्भमा पहिलो पटक राष्ट्रपतिका उम्मेदवारबीच बहस भएको छ ।

बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सहभागी भएका छन् । चार वर्षपछि दुवै नेता एकै कार्यक्रममा सँगै सहभागी भएका सीएनएनले जनाएको छ ।

सीएनएनले आयोजना गरेको टिभी बहसमा अवैध आप्रवासी, गर्भपतन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तनजस्ता मुद्धामा छलफल भएको छ ।

नेपाली समयानुसार शुक्रबार बिहान सीएनएनबाट उक्त बहस प्रत्यक्ष प्रसारण भएको थियो । एक घण्टा ३० मिनेट चल्ने भनिएको बहस १० मिनेट ढिलो सकिएको थियो । बहसमा दुईबीच एकापसमा थुप्रै विषयमा आरोप–प्रत्यारोप चलेकाे थियाे ।

बहसबाट बाइडेनले ८१ वर्षको उमेरमा आफू फेरि अमेरिकाको राष्ट्रपति बन्न र देशलाई चुनौतीबाट बाहिर निकाल्न सक्षम छन् भनी मतदातालाई विश्वास दिलाउन खोजेका छन् । साथै ७८ वर्षीय ट्रम्पले यो अवसरलाई जनतालाई विश्वास दिलाएर फेरि एक पटक ह्वाइटहाउस जानका लागि प्रयोग गरिरहेका छन् ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका छन् । ट्रम्पले भने बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको दाबी गरेका छन् ।

दुई नेताबीचको बहस एटलान्टास्थित सीएनएनको मुख्यालयमा भएको हो । याे बहसलाई अमेरिकाले मात्रै होइन विश्वभर चासोका साथ हेरिएको छ । छलफल शुरू हुँदा दुवै नेताले मञ्चमा एकअर्कासँग हात मिलाएका थिएनन् । यसबाट दुई नेताबीचको तनावको अनुमान गर्न सकिन्थ्यो ।

बाइडेनले ट्रम्पको अध्यागमन नीतिको आलोचना गर्दै ट्रम्पको प्रशासनमा बालबालिकालाई आमाबाट अलग्गिएको र परिवारलाई अलग गरिएको बताए । बाइडेनले एक वयस्क स्टारसँग ट्रम्पको सम्बन्धमा पनि खोट लगाए ।

तर ट्रम्पले उनीविरुद्धको आरोप अस्वीकार गरे र डेमोक्र्याटिक अभियोजकहरूले यस मामलामा उनको छवि बिगार्ने प्रयास गरेको आरोप लगाए ।

बाइडेनले क्यापिटल हिल दंगाका लागि ट्रम्पलाई दोष दिए र यो व्यक्ति (ट्रम्प) दोषी रहेको बताए। जवाफमा ट्रम्पले बाइडेनको छोरा अपराधी भएको बताए । छलफल शुरू हुँदा दुवै नेताले मञ्चमा एकअर्कासँग हात मिलाएका थिएनन् । यसबाट दुई नेताबीचको तनावको अनुमान गर्न सकिन्थ्यो । यसपछि मात्रै ट्रम्पले मुद्रास्फीतिको मुद्दामा बाइडेन सरकारको आलोचना गर्दै मुद्रास्फीतिले अमेरिकालाई मारेको बताए ।

ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयको पनि आलोचना गरे। उनले अफगानिस्तानबाट सेना फिर्ता भएको दिन इतिहासको सबैभन्दा लाजमर्दो दिन भएको बताए ।

त्यसैगरी ट्रम्पले युक्रेन युद्धलाई लिएर बाइडेनलाई निशाना बनाएर भने, ‘उनी राष्ट्रपति भएको भए युक्रेन युद्ध कहिल्यै सुरु हुने थिएन ।’