राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरूङ

राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरूङ



काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरूङले राज्यका सबै संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरु लोकतान्त्रिक हुन नसकेका बताएका हुन् ।

उनले राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए । उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए ।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र अपराध नियन्त्रण जे कुरा गरेपनि स्वतन्त्र ढंगले मुद्दा हाल्यो भने प्रहरी ले उजुरी लिनै नसक्ने बताए ।

‘नेतासँग सोधेर मात्रै, मन्त्रीसँग, सांसदहरूसँग सोधेर लिने कि नलिने भन्ने फैसला गर्छ,’ उनले भने, ‘कति धेरै भ्रष्ट बनाइयो। यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठंन सक्दैन । सुशासन र शान्ति व्यवस्था कारयम रहन सक्दैन ।’

विश्वमा ख्याती कमाएको नेपाली सेनालाई पनि संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउन नसकिएको उनले बताए । ‘नेपाल प्रहरी, नेपाली सेना, एपिएफ देखि अनुसन्धान विभागसम्मको हालत त्यही हो,’ उनले भने, ‘यी सबैभित्र लोकतान्त्रिकरण गर्नुपर्छ ।’