मैले माेइन अलीलाई पनि बलिङ दिनुपर्थ्याे : जाेस बटलर

मैले माेइन अलीलाई पनि बलिङ दिनुपर्थ्याे : जाेस बटलर



काठमाडौं । इङ्गल्यान्ड क्रिकेट टिमका कप्तान जोस बटलरले टी–२० विश्वकपअन्तर्गत भारतसँगको सेमिफाइनलमा मोइन अलीलाई बलिङ नदिएर आफूले गल्ती गरेको बताएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनका क्रममा इङ्गल्यान्डका कप्तान बटलरले स्पिनरका लागि सहयोगी देखिएको पिचमा अफ स्पिन अलराउन्डर मोइन अलीलाई बलिङ नदिनु आफ्नो गल्ती भएको बताएका हुन् । यद्दपि टसले खेलको परिणाममा कुनै असर नगर्ने उनले बताए ।

यो खेलमा इङ्गल्यान्डका स्पिनर आदिल रशिद र लायम लिभिङ्गस्टोनले ८ ओभरमा ४९ रन दिएका थिए । यद्दपि बटलरले आफ्नो टिमको प्रयासलाई लिएर गर्व गरेका छन् । आफूहरूले राम्रो क्रिकेट खेलेको तर अन्तिम समयमा चुकेको उनको भनाइ छ ।

हिजो भएको दोस्रो सेमिफाइनलमा भारतले इङ्गल्यान्डलाई ६८ रनले हराएको थियो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड १६ ओभर ४ बलमा १ सय ३ रन बनाउँदा अल आउट भएको थियो । अब भारतले उपाधिका लागि भोलि दक्षिण अफ्रिकासँग खेल्दैछ ।