बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामले बुझाए ज्ञापनपत्र

बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामले बुझाए ज्ञापनपत्र



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए ।

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तिब्रताका साथ अगाडी बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले भने, ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भने पनि सानो जलविद्युत आयोजनाको रूपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरूले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुन्छ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पूरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।