ओलीलाई भेटेको भोलिपल्टै देउवाले बोलाए पदाधिकारी बैठक

ओलीलाई भेटेको भोलिपल्टै देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । उनले आह्वान गरेको पदाधिकारी बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको भोलिपल्टै हो ।

सभापति देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए । सभापति देउवा र अध्यक्ष ओलीबीच तीन घण्टा कुराकानी भएको थियो । हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आफ्नै निवास बूढानीलकण्ठमा सोमबार अपराह्न ३ बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोजस्ता विषयमा छलफल हुनेछ । पौडेलका अनुसार भ्रातृ संस्थाका म्याद के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिनु पर्ने अवस्था पनि छ ।