संसद् विघटन ठीक थियो भन्नेले फेरि विघटन गर्न सक्छन् : माधव नेपाल

संसद् विघटन ठीक थियो भन्नेले फेरि विघटन गर्न सक्छन् : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अब फेरि संसद् विघटन हुँदैन भन्न नसकिने भन्दै सचेत रहन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र आफूहरुको राजनीति जोगाउन एमाले फुटाउनु परेको उल्लेख गर्दै उनले भने, ‘अहिले पनि खतरा छ सम्माननीय प्रधानमन्त्रीज्यू । सुनिन्छ, विघटन गरेर ठीक गरियो भनेर पनि कतिपयले बोल्ने गर्छन् । हिजो विघटन गरेर ठिक गरियो भन्नेहरुले भोलि फेरि विघटन गर्देलान्, ख्याल गर्नुस् ।’

एमाले विभाजन नगरेको भए आफू र आफ्ना कार्यकर्ता राजनीतिबाट पलायन हुने अवस्था आएको हुने दाबी गर्दै अध्यक्ष नेपालले विभाजनको औचित्य पुष्टी भइसकेको बताए ।

उनले भने, ‘संविधानलाई समाप्त पार्न खोजिएको थियो त्यसलाई विफल पारियो । त्यही बेलामा पुष्टि भएको थियो, जतिबेला हामीले यो पार्टी निर्माण गरेर आफ्ना कार्यकर्ताको रक्षा गरेका थियौं । नत्र यी कार्यकर्ता निराश हुने थिए । हामी सबै समाप्त हुने थियौं । हामीले यो राजनीतिबाट पलायन गर्नुपथ्र्यो, या आत्मसमर्पण गरेर बस्नुपर्ने हुन्थ्यो । हामीले त्यो बाटो रोजेनौं। विद्रोहको औचित्य पुष्टी भएको छ, क्षणक्षणमा भएको छ ।’

आफ्नो पार्टी लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसात् गर्दै अघि बढ्ने भन्दै उनले नेपालको राजनीतिमा दुईवटा समस्या देखेको बताए । उनले पहिलो समस्या भ्रष्टाचार भएको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए । साथै उनले दोस्रो समस्या बृहत् चिन्तनको कमी भएको बताए ।