केही नदी र खोलामा बाढी आएकाेले सावधानी अपनाउन आग्रह

केही नदी र खोलामा बाढी आएकाेले सावधानी अपनाउन आग्रह



काठमाडौँ । सिन्धुली, उदयपुर, कैलाली लगायत ठाउँका केही नदी खोलामा बाढी आएको छ । कैलालीको पथरिया खोला जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै सिन्धुलीको हरिहरपुरगढी र उदयपुरको सुन्दरपुर क्षेत्रमा पनि बाढी आएको छ । आज ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, सिन्धुली, मकवानपुर, धनुषा, महोत्तरी, सर्लाही, लमजुङ, स्याङजा, कास्की, पर्वत र आसपासका जिल्ला भई बहने धेरै ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

भोलिदेखि देशका मुख्य नदी कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरुमा तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह बढ्न सक्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । ठूलो पानी पर्ने ठाउँमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । आउँदो बिहीवारसम्म मनसुनी प्रणाली झनै सक्रिय हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।