सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी



काठमाडौँ । बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यता रहेकाे छ ।

मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानी मात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गरे । वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उनले सुनाए । वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ ।

सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा बाग्मतीको मात्र नभई मेलम्चीको पानी पनि वितरण गरिन्छ । बागमतीबाट वर्षामा दैनिक १३ करोड र हिउँदयाममा दैनिक नौ करोड लिटर पानी सङ्घीय राजधानीको मुख्य शहरमा वितरण गरिन्छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव ५ किलोमिटर सुरुङमार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महाङ्कालमा रहेको पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौँ उपत्यकामा वितरण हुने गरेको छ ।

हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ । जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् ।