ओलीसँगको भेट सकारात्मक छ : सभापति देउवा

ओलीसँगको भेट सकारात्मक छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेट सकारात्मक भएको बताएका छन् ।

सोमबार अपराह्न आफ्नै निवास बूढानीलकण्ठमा बसेकाे कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उक्त भेटबारे सभापति देउवाले संक्षिप्तमा ब्रिफिङ गरेका छन् ।

सभापति देउवाले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगरौं भनेका थिए ।

बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको बताए ।

‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ, सकारात्मक कुराहरू छन् । यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य विश्वकर्माले भने

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन ।

ओलीले सभापति देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएकाे प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

उक्त भेटबारे सभापति देउवाले सोमबारको पदाधिकारी बैठकमा भने, ‘अहिले ओलीजीसँग सम्बन्ध सुमधुर र सकारात्मक छ ।’

शनिबार देउवाले ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बीआरआईलगायत विषयमा पनि कुराकानी भएको छ । अनुदान हो भने स्वीकार गर्न सकिने नेताहरूले बताएका थिए ।

साथै नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको र थप गर्नेबारे पनि कुरा भएको छ । असार १५ गते नै नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको थियो ।