रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति

रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति



काठमाडौँ । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई बालयौन दुराचार गरेको कसूरमा दोषी ठहर गरेको थियो ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।