काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने भद्र सहमति भएको छ । संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको एक नेताले जानकारी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी छ ।
सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने छन् ।
ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।
त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।
स्रोतका अनुसार सोमबार साँझैदेखि कांग्रेस र एमालेबाट दुई–दुई नेता छलफलमा जुटेका थिए ।
असार १५ गते शनिबार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा ३ घण्टा लामो छलफलपछि दुई दलबीच सहमतिका लागि निरन्तर छलफल भएकाे हाे ।
दुई दलबीच विद्यमान निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउने सहमति भएको छ ।
एमाले र कांग्रेसबीच सहमतिका लागि सम्झौताको ड्राफ्ट तयार पार्न कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू खटिएका थिए ।
प्रतिक्रिया