मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो : प्रधानमन्त्री प्रचण्ड

मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।

‘संविधानलाई नै डिरेल गर्ने हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, प्रधानमन्त्री प्रचण्ड भने ।

बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेको बताए ।

ओलीसँगको भेटमा राजीनामा नदिने बरु आफूले संसदमा विश्वासको मत फेस गर्ने बताएका छन् । सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका थिए ।

अहिले बैठक सकेर प्रधानमन्त्री राष्ट्रपति भवन शितल निवास हिँडेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास लागेकाे बताइएकाे छ ।