देशका धेरै ठाउँमा भारी वर्षा

देशका धेरै ठाउँमा भारी वर्षा



काठमाडौं । अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो ।

बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । आज कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ ।

अहिले सिन्धुपाल्चोकको मेलम्ची नदी सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अनपाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । वर्षाका कारण मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रसहित जनकपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

आउँदो तीन दिनसम्म नै कर्णाली, महाकाली, कोशी, नारायणी, बागमती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आजदेखि केही दिन सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायु सुदूरपश्चिमको कैलाली–कञ्चनपुर हुँदै पहाडतिर उक्लिँदै गएको मौसमविद्ले बताएका छन् ।