अमेरिकी सर्वोच्च अदालतद्वारा पूर्वराष्ट्रपति ट्रम्पको पक्षमा फैसला

अमेरिकी सर्वोच्च अदालतद्वारा पूर्वराष्ट्रपति ट्रम्पको पक्षमा फैसला



वासिंटन डिसी । अमेरिकाको सर्वोच्च अदालतले सन् २०२१ मा संसद् भवनमा भएको आक्रमणसम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फाइदा पुग्नेगरी फैसला गरेको छ ।

सर्वोच्च अदालतको इजलासले ट्रम्पलाई राष्ट्रपति हुँदा गरेको आधिकारिक काम कारबाहीका लागि अभियोजनबाट छुट रहेको तर उनका अनधिकृत कामका लागि कुनै छुट नहुने बताएको छ । तर कस्तो कामलाई आधिकारिक भन्ने र कस्तोलाई अनधिकृत भनेर छुट्याउने जिम्मा तल्लो अदालतलाई दिएपछि ट्रम्पलाई फाइदा पुगेको हो । यो मुद्दामा तल्लो अदालतमा आउँदो नोभेम्बरपछि मात्रै सुनुवाइ हुने छ । योसँगै ट्रम्पलाई राष्ट्रपति बन्ने बाधा हटेको बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले सर्वोच्चको निर्णयलाई संविधान र लोकतन्त्रको जीत भएको बताए बीबीसीले जनाएको छ । अदालतको फैसलाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनले अदालतले डरलाग्दो नजिर बसालेको पनि बताएका छन् । नोभेम्बरको चुनाव जितेमा ट्रम्पले शक्तिको गलत प्रयोग गरेर मुद्दा खारेज गरिदिन सक्ने बाइडेनको भनाइ छ ।

सर्वोच्चको यो निर्णय न्यायाधीशहरूको बहुमतको आधारमा भएको हो । ट्रम्पको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश रहेका छन् । पक्षमा रहेका न्यायाधीशहरू ट्रम्प प्रशासनमै नियुक्त भएका हुन् ।

यसैबीच ट्रम्पले अनैतिक सम्बन्धलाई लुकाउन पोर्नस्टार स्टोर्मी डेनिल्सलाई रकम दिएर दबाबमा राखेको सम्बन्धी मुद्दामा यही जुलाई ११ मा अदालतले सजाय सुनाउँदै छ । ट्रम्पले रकम दिएको सम्बन्धी मुद्दामा सजाय तोक्ने समय पछि सार्न अदालतमा निवेदन दिएका छन् । यो मुद्दामा पनि ट्रम्पको पक्षमा फैसला भएमा आउँदो चुनावमा सहभागी हुन ट्रम्पले कानुनी झन्झटहरू बेहोर्न नपर्ने बीबीसीले जनाएको छ ।