दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण



काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएकाे छ । ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न भनेको हो ।

‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।