मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेलाई १० प्रश्न

मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेलाई १० प्रश्न

चेसमा रानी धेरै चल्दैन, हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले जनस्तरबाट सभापति रवि लामिछानेमाथि प्रश्न उठेको बताएका छन् ।

ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् ।

सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबबसेको ?’, सभापतिमाथि उठेको प्रश्न भन्दै पहिलो बुँदामा उनले उल्लेख गरेका छन् ।

उनले रवि लामिछानेको ब्लु बसदेखि रोजगारी सिर्जना गर्ने बाचा किन अधुरो रह्यो भनी सोधेका छन् ।

यस्तै जीबी राईलाई समात्ने विषयमा रविले दिएको अभिव्यक्तिमा पनि प्रश्न उठाइएको छ । ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’, जनताको प्रश्न स्मरण प्रतिवेदनमार्फत गराइएको छ ।

यस्तै सभापतिलाई भेट्न समस्या भएको, सभापतिको सचिवालयमा मृदुभाषी नभएको, पार्टीमा ग्यालेक्सीको टिम धेरै भएको, सरकारमा गएपनि सचेअनुरुप फाइल नखोलिएको, सभापतिमा त्यागको भावना नभएकोलगायतको प्रश्न उठाइएको छ ।

त्यस्तै प्रतिवेदनमा पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख छ ।

महामन्त्री ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर सुझाव आएको पनि उल्लेख छ ।