राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित



काठमाडौं । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटलाई प्रतिनिधि सभाले यही असार ११ गते पारित गरेको थियो ।

बजेट पारित हुनुअघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताए । राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभाले अर्थमन्त्री पुनले प्रस्तुत गरेका बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।