प्रधानमन्त्रीले गरे सत्तारूढ दलका नेताहरूसँग सिंहदरबारमा छलफल

प्रधानमन्त्रीले गरे सत्तारूढ दलका नेताहरूसँग सिंहदरबारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री प्रचण्डले सत्ताघटक दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गरेका हुन् ।

पछिल्लाे राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीले सत्ताघटक दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठलगायत सहभागी थिए ।

छलफलपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई विश्वास मतबारे पार्टीभित्र छलफल गरिने प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वास मत दिने बताएका छन् । उनले नयाँ समीकरण षड्यन्त्रमुलक ढंगले आएको बताएका छन् ।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरणबाट सरकार बनाउने र संविधान संशोधनलगायत अघि बढाउनेलगायत सहमति भएको थियो ।

नेकपा (एमाले) र जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसदमा विश्वास मतको प्रस्ताव राख्ने जानकारी संघीय संसद सचिवालयका महासचिवलाई दिइसकेका छन् ।