बिहीबारको मन्त्रिपरिषदद्वारा ४ वटा विदेश भ्रमण स्वीकृत

बिहीबारको मन्त्रिपरिषदद्वारा ४ वटा विदेश भ्रमण स्वीकृत


ग्लोब नेपाल
729
Shares

काठमाडौं । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० वटा निर्णय गरेको थियो, त्यसमध्ये ४ वटा विदेश भ्रमणका लागि स्वीकृति प्रदान गरिएको छ । त्यसमध्ये ३ वटा अमेरिका र एउटा स्वीट्जरल्यान्डको भ्रमण संलग्न छ ।

यही असार २४ गतेदेखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकारको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दीगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य प्रा.डा. संगीता सिंह र सचिवसमेतको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको छ ।

यसैगरी अमेरिकामा सञ्चालन हुने राष्ट्रपतीय निर्वाचनको अवलोकन गर्नका लागि २०८१ कार्तिक १८ देखि २१ सम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा आयुक्तद्वय रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधरको भ्रमण स्वीकृत गरेको छ ।

यस्तै असार २५ देखि साउन ४ सम्म अमेरिकामा हुने भिजिट अफ हस्पीटालिटी इन कालोराडोमा सहभागी हुन जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमको भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।

असार २४ गतेदेखि २८ गते सम्म स्वीट्जरल्यान्डको जेनेभामा हुने संयुक्त राष्ट्रसंघ आदिवासी जनजाति अधिकारसम्बन्धी विशेषज्ञ संयन्त्रको १७ औं सेसनमा सहभागी हुन आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरको भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।