काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गरेका छन् । आज काठमाडौँको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गरेका हुन् ।
जगन्नाथ रथयात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिदेखि शुरु हुने गर्दछ । त्यस अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गरेका थिए ।
जगन्नाथलाई भगवान् विष्णुको रूपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार एकपटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गरे । त्यसपछि दुवै दाजुभाइले बहिनी सुभद्राका लागि तयार पारेको भव्य रथ ल्याई त्यसमा सवार तीनै जना शहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा पनि गए र त्यहाँ सात दिन बसे । शहरको भ्रमण सकेर तीनै जना पुरी फर्किए ।
त्यस बेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर शहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर जान्छन् । यीमध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बीचमा र जगन्नाथको रथ पछाडि रहने गर्दछ ।
प्रतिक्रिया