काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । आइतवार अपील जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू व्यवसायीहरूलाई यथाशिघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित् सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न हुन महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई हार्दिक अपील गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको यस अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया