असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको टुंगो लगाउँछौँ : महेश बर्तौला

असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको टुंगो लगाउँछौँ : महेश बर्तौला



काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनका लागि असार २८ गते सम्ममा मन्त्रालयको भागबण्डा टुंगो लगाउने बताएका छन् ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भागबण्डाको टुंगो भइनसकेको र असार २८ गते सम्ममा टुंगो लगाउने बताए ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबन्डाको विषय टुंगो लागिनसकेको बताए ।

उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डा टुंगो लगाउने बताए ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाउने गरी कांग्रेससहितका दलहरूसँग छलफल हुने बताए ।

“प्रधानमन्त्रीजीले तत्कालै आज भोलि नै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा, (असार) २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबन्डाको बारेमा हामी टुंगो लगाउँछौँ । अहिले चाहिँ केही छलफल भएको छैन,” बर्तौलाले भने ।

प्रचण्डको सरकारमा सहभागी नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्डको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेकाले एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेको हो ।