इजरायल–गाजा युद्धको ९ महिना, झन्डै ४० हजार जनाको ज्यान गयाे

इजरायल–गाजा युद्धको ९ महिना, झन्डै ४० हजार जनाको ज्यान गयाे



गाजा । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा इजरायलमा १ हजार २ सय जनाको ज्यान गएको थियो भने लडाकु समूहले २ सय ५० जनालाई बन्धक बनाएको थियो । युद्धविराम र कैदी आदानप्रदान सम्झौतापछि हमासले १ सय जनाभन्दा बढी व्यक्तिलाई रिहा गरेको थियो । त्यसको तेब्बर सङ्ख्यामा प्यालेस्टिनी बन्दी रिहा भएका थिए ।

युद्ध रोक्नका लागि कुटनीतिक प्रयासहरू भइ रहे पनि नतिजा निस्कन सकेको छैन । यसैबीच इजरायलले कतारको दोहामा भर्खरै शुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आउँदा दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका खबरमा उल्लेख छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको मे महिनामा युद्धविराम सम्झौताको मार्गप्रशस्त गर्ने घोषणा गरेका थिए ।