देशका समस्या सम्बोधन गर्न ठूला दल मिलेर सरकार बनाउन लागेका हौं : डा‍. महत

देशका समस्या सम्बोधन गर्न ठूला दल मिलेर सरकार बनाउन लागेका हौं : डा‍. महत



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा‍. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न संसदका दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका छन् ।

संसद भवन परिसर नयाँ बानेश्वरमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नु परेको बताए ।

वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको उनको आरोप छ ।

‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन। कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ,’ उनले भने ।

स्थिरतातर्फ लैजान र समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न पनि संसदका दुई ठूला दल मिल्नुपरेको उनले बताए ।

‘विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ,’ उनले भने, ‘दुवै दलले छलफल गरेर सहमति बन्छ ।’