अलमल हुनु पर्दैन, सरकार ७६ (२) अनुसारकै बन्छ : शेखर कोइराला

अलमल हुनु पर्दैन, सरकार ७६ (२) अनुसारकै बन्छ : शेखर कोइराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन् ।

जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए ।

कोइरालाले भने, ‘काँग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा गरेको छौँ । र २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ। उहाँलाई संविधानले दिएको अधिकार हो । मिडियाहरूमा धेरै आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको हो वा के हो मैले बुझ्न सकेको छैन । तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ कै हुन्छ ।’

कोइरालाले आफूले धारा ७६ (३) को सरकार नखोजेको पनि बताएका छन् । आफूले बोलेका कुराहरूलाई बङ्ग्याइएको दाबी उनको थियो ।

उनले भने, ‘यो विषयमा मैले अस्ति केही कुरा राखेको थिएँ । तर, केही कुरा बङ्गाइदिनुभयो । शेखर त ७६ (३) को सरकार खोजिरहेको हो कि भन्ने आशंका बाहिर गयो। तर, मैले त सात आठ महिनाअघि देखिनै काँग्रेस एमाले मिल्नुपर्छ भन्दै आइरहेको थिएँ । देशमा अस्थिरता निम्तिएको छ, सरकार चेन्ज भएको भइरहेको छ । हामीहरूले स्थिर सरकार र सुशासन दिएर आर्थिक विकास गर्नुपर्छ भनिरहेको थियाै‌ । कसैले विश्वास गरेको थिएनन् । तर, त्यो कुरा आज सार्थक भएको छ । काँग्रेस र एमाले र ७६ (२) कै सरकार बन्छ । र राजनीतिक स्थायित्व र सुशासन दिन्छौँ । संविधानमा भएको कमीकमजोरीलाई करेक्सन गर्छौँ ।’