काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।
ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् ।
उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् ।
आफुले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नलिन भनेको बताए ।
डा. ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् ।
आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाए ।
उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।
ढकालले आफुलाई प्रचलित कानुन विपरित कारवाही गरिएको बताउदै राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफुलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।
उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफु अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।
आफुलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए ।
प्रतिक्रिया