मेरिल्याण्ड । विश्वभरि शाखा रहेको अन्तरराष्ट्रीय नेपाली साहित्य समाज अनेसासको अध्यक्षमा अमेरिकाका सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् । वाग्लेले कूल खसेको १४५४ मत मध्ये ८५९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी विमला निरौलाले ५९५ मत प्राप्त गरेकी थिईन् । उक्त मतदानमा १९ मतदाताले अध्यक्षका उमेदवार कसैलाई पनि मतदान गरेनन् ।
आगामी २०८१ देखि २०८३ सम्मको कार्यकालको लागि निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदीले ९५४ मत प्राप्त गरेका थिए , उनका निकतम प्रतिद्वन्द्वी राजेन्द्रकुमार श्रेष्ठले ४८८ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षहरुमा सुदिपभद्र खनाल (अमेरिका ),सरिता अर्याल (एशिया) विजयी भएका छन् । खनालले ८१८ मत प्राप्त गरेका थिए भने अर्यालले ७४९ मत प्राप्त गरेकी थिईन् । यसैगरी गणेश खडका अफ्रिका, डिल्लीराम अम्गाई युरोप, हरिप्रसाद अधिकारी ओसेनियावाट निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित कार्यसमितिको महासचिवमा राजु सिटौला विजयी भएका छन उनले ८५५ मत प्राप्त गर्दा कृष्णकुमार गिरीले ५८४ मत मात्र प्राप्त गरे ।
यसैगरी कोषाध्यक्षमा तारा अधिकारी,सचिवमा रविन शर्मा तथा कार्यसमितिका सदस्यहरुमा सुमन वर्षा घिमिरे,पुष्पा खनाल,दिप कार्की,रतन लोक्सम र तारा उप्रोकी निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन सम्पन्न गराउन पत्रकार गुणराज लुईँटेलको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको थियो । उक्त समितिमा डा कविता घिमिरे र डा चुडामणि खनाल सदस्य रहेका थिए ।
गत जुलाई ७ तारिख देखि वुधवार विहान ११ वजेर ५९ मिनेट सम्मको समय दिएर अनलाईन मार्फत मतदान गरिएको थियो । अनेसासका हाल २८१८ आजीव सदस्य रहेका छन् । अनेसासको विधानमा आजीवन सदस्यहरुले केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था रहेको छ । विसं २०४८ मा वाशिङ्गटन डिसीमा स्थापना भएको यो अनेसासको १७ औ कार्यसमिति हो ।
प्रतिक्रिया