काठमाडौं । प्रहरीले गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई पक्राउ गरेको छ । विष्टलाई प्रहरीको मानब बेचबिखन अनुसन्धान व्यूरोले सिंहदरबारस्थित गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए ।
गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालको नाममा भिजिट भिसामा मानिस विदेश पठाउने गरेको आरोपमा विष्टलाई पक्राउ गरिएको हो ।
विष्टले गत २१ असारमा थाइल्याण्ड हुँदै भिजिट भिषामा तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई दबाब दिएका थिए । विष्टले पन्थीलाई आफूले गृहमन्त्री लामिछाने, उनको सचिवालय र गृहसचिव अर्याललाई मिलाइसकेको भनेका थिए ।
तर, पन्थीले त्यसबारे मन्त्रालयमा सोधखोज गरेपछि विष्ट लामिछाने र अर्यालको नाममा भिजिट भिषामा मानिस विदेश पठाउने धन्दामा संलग्न रहेको खुलासा भएको हो । अर्यालले आफ्नो नाम भजाएर मानव तस्करी गरेको आरोपमा सेवाबाट २५ असारमा हटाएका थिए । त्यसपछि विष्टले जागिर थमाइदिन आग्रह गर्दै गृहमन्त्री लामिछाने भेटेका थिए ।
लामिछानेको सचिवालयले विष्टमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।
प्रतिक्रिया