सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने



काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भनिन् ।

सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बनाउनुपर्ने बताएको थियो ।

त्यसैगरी सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ ।

बाधा अड्काउ फुकाउ आदेश जारी गर्दै दुबै आयोगको म्याद २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।