ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको हस्ताक्षर तयार

ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको हस्ताक्षर तयार



काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दुई तिहाइ सांसदको हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी गरिएकाे एमालेका एक नेताले जानकारी दिए ।

नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने र देउवा प्रधानमन्त्री बन्ने जिकिर गरिरहेको छ ।

राष्ट्रपतिलाई विवादमा तान्न खोजिएपछि कांग्रेस र एमालेले दुई तिहाइ सांसदको हस्ताक्षर र दुईभन्दा बढी दलहरूको समर्थन ओलीलाई रहेको लिखित जानकारी गराउन लागेका हुन् ।

सभामुखले राष्ट्रपति कार्यालय शीतल निवासमा विश्वासको मत परिणाम पठाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ । यो प्रक्रिया शुक्रबारै शुरु गर्ने तयारी छ ।

साना दल समेटेर दुई तिहाइ पुर्‍याई संविधानमा रहेका जटिलता फुकाउने कांग्रेस-एमालेको योजना छ ।

कांग्रेसका ८८, एमालेका ७७ , लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ४, जनता समाजवादी पार्टी (जसपा) नेपालका ५ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसदले हस्ताक्षर गरिसकेका छन् ।

त्यसबाहेक जनता समाजवादी पार्टी (जसपा)ले पनि कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको छ ।

जनमत पार्टीका मुख्यमन्त्री रहेको मधेस सरकार कायम रहेकाले केन्द्रीय सरकारलाई समर्थन गर्ने सो पार्टीका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।