उच्च जोखिम भएका जिल्ला र क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय

उच्च जोखिम भएका जिल्ला र क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय



काठमाडौँ । सरकारले उच्च जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा रात्रिकालीन गाडी नचलाउने निर्णय भएकाे हाे ।

गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी यस्तो निर्णय गरेको हो । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएपछि गृह मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।

‘रेड जोन’ अर्थात् उच्च जोखिमका जिल्ला र क्षेत्रका सडकमा धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका ठाउँमा मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमानलाई हेरेर रात्रिकालीन बस नचलाउने निर्णय भएको गृह सचिव एकनारायण अर्यालले बताए ।

यस्तै यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न अनि यसको पालना भए-नभएको अनुगमन गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ ।

गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताए ।

पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।